काठमाडौं । निर्वाचन नजिकिँएसंगै नेपाल प्रहरीले ८ जना डीआईजीसहित उच्च तहका अधिकृतहरूको सरुवा गरेपछि संगठनभित्र असन्तुष्टि चुलिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले गरेको सरुवा व्यक्तिगत पूर्वाग्रहका आधारमा भएको आरोप प्रहरी संगठनभित्रै उठ्न थालेको छ ।
स्रोतका अनुसार बागमती प्रदेशका डीआईजी अरुण पौडेल र गण्डकी प्रदेशका डीआईजी दिनेश आचार्यलाई राम्रो कार्यसम्पादन हुँदाहुँदै ८ महिनामै हटाइएको छ । उनीहरू दुवै आईजीपी कार्कीका ब्याची हुन् । छोटो समयमै सरुवा गरिनु स्वाभाविक नभएको भन्दै संगठनभित्र प्रश्न उठाइएको छ ।
पौडेल र आचार्यलाई तानेर राष्ट्रिय अनुसन्धान विभागबाट आएका डीआईजी दीपक रेग्मी र दीपेन्द्र घर्ती क्षेत्रीलाई क्रमशः बागमती र गण्डकी प्रदेशको कमाण्ड दिइएको छ । यसलाई लिएर “काबिल अधिकृतलाई पन्छाएर विवादित पृष्ठभूमि भएका व्यक्तिलाई जिम्मेवारी दिइयो” भन्ने गुनासो बढेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सरुवा रोक्न नसकेको भन्दै राजनीतिक नेतृत्व कमजोर देखिएको प्रतिक्रिया समेत प्रहरी वृत्तमा सुनिन थालेको छ । यसअघि काठमाडौं महानगर प्रमुख बालेन साह र सुदन गुरुङले गृहमन्त्रालयको कार्यशैलीप्रति असन्तुष्टि जनाएका थिए ।
गण्डकी प्रदेशमा डीआईजी आचार्य हटाइनुको कारणका रूपमा कोरला नाकाबाट हुने तस्करी नियन्त्रणमा कडाइ गरेको विषय पनि जोडेर हेरिएको छ । स्रोतहरूका अनुसार भेप र अन्य अवैध कारोबार नियन्त्रणमा आचार्य बाधक बनेपछि उनलाई हटाइएको चर्चा छ ।
यसैबीच, सामाजिक सञ्जालमा संगठनविरुद्ध टिप्पणी गरेका कारण कारबाही भोगेका डीआईजी जयराज सापकोटालाई भने कर्णाली प्रदेशको प्रहरी प्रमुख बनाइएको छ । यसअघि उनलाई आईजीपी कार्कीले प्रहरी नियमावली उल्लंघन गरेको भन्दै नसिहत दिएका थिए ।

उता, एसपी सरुवामा पनि मनपरी गरिएको आरोप लागेको छ । रुपन्देहीका एसपी प्रदीप क्षेत्रीलाई ९ महिनामै हटाइएको छ । पूर्वडीएसपी गणेश चन्द र प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले रुपन्देहीमा आर्थिक चलखेलका आधारमा जनकबहादुर शाहीलाई सरुवा गरिएको छ । क्षेत्रीले तस्करी नियन्त्रण र अपराधका घटनामा कडाइ गरेका थिए । तस्करी नियन्त्रणमा कडाइ गरेका कारण उनी आईजीपी निकट घुमुवा समूहसँग असन्तुष्ट बनेको चर्चा छ ।
क्षेत्रीसँग आईजीपी कार्की पनि रुष्ट थिए । आईजीपीका घुमुवा सन्तोष रायमाझीको सेटिङमा नचल्दा क्षेत्री सरुवामा परेका छन् ।रायमाझीले आइजीपि आफ्नो नजिकको नाता भएकै कारण तस्करसंग मिलेर अबैध असुली गर्न सफल भएका छन ।
कर्णालीबाट सीआईबीमा सरुवा भएका डीआईजी माधव श्रेष्ठ आईजीपी कार्की लुम्बिनीको डीआईजी हुँदा एसएसपी थिए । सीआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीको सुराकी गर्नका लागि श्रेष्ठलाई पठाइएको चर्चा प्रहरीमा छ ।
प्रहरी संगठनभित्र अहिले सरुवा–बढुवामा योग्यता भन्दा पहुँच हाबी हुँदै गएको गुनासो बढ्दै गएको छ । निर्वाचनको मुखमा यस्तो अवस्था सिर्जना हुँदा शान्ति–सुरक्षामै असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
Soldier



