काठमाडौं । प्रहरीको लेखा सरुवा नजिकिँदै जाँदा आकर्षक कार्यालयमा पोस्टिङका लागि संगठनभित्र तिब्र दौडधूप र लबिङ बढ्दै गएको छ। यस पटकको सरुवामा भने एक पटक जिल्ला चलाइसकेकोले पुन:जिल्ला नपाउने मापदण्ड समेत तयार भएको स्रोत बताउछ।
यस पटक ६ वर्ष कार्यकाल पुरा भएका तीन दर्जन वढी लेखापाल आउट हुने भएका छन । प्रहरीमा एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएर काम गरेका लेखापालहरुको प्रहरी प्रधान कार्यालयले हरेक वर्षको असार मसान्तभित्र सरुवा गर्दै आएको छ।
यसपटक तराईका विभिन्न जिल्लाहरु कपिलबस्तु, बाँके, बर्दिया, कैलाली, रोल्पा, सल्यान, सप्तरी, प्रहरी एकेडेमी, ललितपुर, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), प्रहरी अस्पतालजस्ता आकर्षक कार्यालयका लेखाअधिकृतहरूको कार्यकाल दुई वर्ष पूरा भइसकेकोले ती स्थानमा पोष्टिङको लागी संगठनभित्र आर्थिक चलखेल र लबिङ तीव्र रुपमा भइरहेको स्रोतहरू बताउँछन।
प्रहरीमा लेखापालहरुको सरुवा देशभरका बजेट चल्ने युनिटहरु (जिल्ला, गण, प्रदेश प्रहरी कार्यालय, एकेडेमी , वृत्त, ई.प्र.का.) ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार वर्गमा विभाजन गरेर गर्ने गरिएको छ । लेखापालको रुपमा प्रहरी निरीक्षक, बरिष्ठ सई, सई र असई दर्जासम्मका कर्मचारी खटिँदै आएका छन् । खासगरी ठूला बजेट चल्ने युनिट तथा ‘क’ वर्गका कार्यालयमा जान हरेक बर्ष तिव्र प्रतिस्पर्धा हुने गरेको पाइएको छ ।

‘क’ र ‘ख’ वर्गमा लेखापाल भएर बसिसकेको मान्छे पुनः दोहोर्याएर ‘क’ र ‘ख’ मा बस्न नपाउने व्यवस्था छ भने ‘ग’ र ‘घ’ मा बसेर काम गरेकाहरुलाई ‘क’ र ‘ख’ मा सरुवाका लागि प्राथमिकता दिइने मापदण्डमा उल्लेख गरिएको छ । तर पहुँच हुनैहरु सधैं ‘क’ र ‘ख’ मा बस्ने गरेको गुनासो प्रहरीमा व्यापक छ।
लेखापालहरुको सरुवा प्रहरी प्रधान कार्यालयको प्रशासन विभागले गर्ने गर्छ । एक प्रहरी अधिकृतका अनुसार लेखा सरुवा असार तेस्रो साता सम्ममा हुने बुझिएको छ ।
यस वर्ष विभिन्न कार्यालयमा ६ वर्ष अवधि पुरा भएका लेखापालहरु आउट भएसंगै यस पटकको सरुवामा पनि लेखापालहरुले पहुँचको भरमा आकर्षक पोष्टिङका लागी तिब्र लविङ गरिरहेको बुझिएको छ । पहुँच नभएका लेखापालहरु भने पेलानमा पर्ने निश्चित जस्तै देखिन्छ ।



