काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी निर्वाचनमा संस्थापन पक्षले गठबन्धन गरेपछि उमेदवार मनिष झाले प्रश्न उठाएका छन् । उनले नेताहरूले विगतमा गरेको घोषणाविपरीत गुटबन्दी भएको भन्दै प्रश्न उठाएका हुन् ।
रास्वपाको महामन्त्रीमा उमेदवारी घोषणा गरेका निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता गणेश पराजुली, सचिवालयको नेतृत्व गरेका प्रमोद न्यौपानेले संस्थापकलाई महामन्त्री बनाउन भन्दै उमेदवारी फिर्ता लिएका छन् । उनीहरूले संस्थापकमध्येका विपीन आचार्यलाई समर्थनको घोषणा समेत गरेका छन् । महामन्त्रीका उमेदवार झाले उक्त कदमलाई गुटबन्दी भन्दै प्रश्न उठाएका हुन् ।
“महामन्त्रीमा यति धेरै आकर्षण किन छ भने रास्वपाको इतिहासमा यो पहिलो निर्वाचित महामन्त्री हुनेछ । अर्को महामन्त्री मनोनीत हुनेछ,” झाले भने, “मेरो दाबी के हो भने मैले ६ दिनअघि नै महामन्त्रीमा उमेदवारी घोषणा गरेको छु । अरुलेझै दुई–चार घण्टाका लागि घोषणा गरेर फिर्ता लिनका लागि पनि होइन ।”
उनले आफूले नेतृत्वले हिजो दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै अब पार्टीलाई हाक्नका लागि उमेदवार बनेको बताए । तर, संस्थापकका नाममा भएको गुटबन्दी अस्वाभाविक भएको उनको तर्क छ । सभापतिले उद्घाटनका क्रममा समूहगत रूपमा प्रचार नगर्ने भनि गरेको घोषणाको विपरीत भएको उनको भनाइ छ ।

“केही व्यक्तिले समूहगत अभ्यास गर्नुभयो – यो सभापति रवि दाइको घोषणाको विपरीत हो,” झाले भने, “कुनै व्यक्तिको सपोर्टमा वा कुनै व्यक्तिको विरोधमा भन्ने भन्दा समूहगत अभ्यास किन गरियो भन्ने प्रश्न उठेको बताउए ।”
आफूले सभापतिसहित नेताहरूसँग पाँच वर्ष मन्त्री नबन्ने र पार्टी सुधार्ने बताएर महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएको बताए । सभापति सबैलाई देखाउने फेस र समग्र नेतृत्व भए पनि महामन्त्री आन्तरिक व्यवस्थापनको नेता भएको बताए ।
‘हेभिवेट’ले अर्कातर्फ समर्थन गरे भन्ने प्रश्नमा झाले उमेदवारी घोषणा गर्दै फिर्ता लिँदै गर्ने हेभिवेट नेता नहुने बताए । मतदाताको ‘रेस्पोन्स’ले आफू निर्वाचित हुने विश्वासमा रहेको उनको भनाइ छ । संस्थापन पक्ष एक भएको घोषणा गरेकाहरूलाई कारबाही गर्न उनले सभापति रवि लामिछानेसँग माग गरेका छन् ।



