मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित फिल्म ‘बोर्डर २’ को चर्चा यतिबेला चुलिएको छ। सन् १९९७ को ब्लकबस्टर फिल्म ‘बोर्डर’ को यो सिक्वेललाई लिएर दर्शकमा निकै उत्साह देखिएको छ।
अनुराग सिंहको निर्देशनमा बनिरहेको यो फिल्म आफ्नो विशाल स्टारकास्ट र कलाकारहरूले लिएको पारिश्रमिकका कारण पनि हेडलाइन बनिरहेको छ। फिल्मको बजेटको एउटा ठूलो हिस्सा कलाकारहरूको पारिश्रमिकमा खर्च गरिएको छ।
‘बोर्डर २’ मा सनी देओल मुख्य भूमिकामा देखिनेछन् र उनी फिल्मका सबैभन्दा महँगा अभिनेता समेत बनेका छन्। ‘गदर २’ को ठूलो सफलतापछि सनी देओलले ‘बोर्डर २’ का लागि निकै मोटो रकम बुझेका छन्।
विभिन्न रिपोर्टहरूका अनुसार उनले यो फिल्मका लागि ५० करोड भारु पारिश्रमिक लिएका छन्। यो रकम पहिलो फिल्म ‘बोर्डर’ मा उनले लिएको १.२ करोडको तुलनामा झन्डै ४० गुणा बढी हो।

फिल्ममा नयाँ पुस्ताका चर्चित कलाकारहरू वरुण धवन र दिलजीत दोसान्झ पनि महत्त्वपूर्ण भूमिकामा देखिनेछन्। वरुण धवनले फिल्ममा परमवीर चक्र विजेता मेजर होशियार सिंह दहियाको भूमिका निभाउँदै छन्, जसका लागि उनले ८ देखि १० करोड भारु पारिश्रमिक लिएका छन्।
त्यस्तै, पन्जाबी सुपरस्टार दिलजीत दोसान्झले शहीद निर्मलजीत सिंह सेखोनको भूमिकाका लागि ४ देखि ५ करोड भारु बुझेका छन्। फिल्ममा सुनील शेट्टीका छोरा अहान शेट्टी पनि अनुबन्धित भए पनि उनको पारिश्रमिकबारे भने अझै खुल्न सकेको छैन।
यस वार ड्रामा फिल्ममा मोना सिंह, सोनम बाजवा, मेधा राणा र अन्या सिंह जस्ता कलाकारहरूको पनि अभिनय रहनेछ। वास्तविक घटनामा आधारित यो फिल्म २३ जनवरी २०२६ मा सिनेमाघरहरूमा प्रदर्शन हुने तय भएको छ।
जेपी दत्त र उनकी छोरी निधि दत्तले निर्माण गरेको यस फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड राख्ने अपेक्षा गरिएको छ।रातोपाटी



