काठमाण्डौ । आगामी माघ २३ गतेबाट प्रदर्शन हुने लभस्टोरी फिल्म ‘कुमारी’को बिहीवार नेपालगन्जबाट सांगीतिक यात्रा सुरू भएको छ । ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ नाम दिइएको यो कार्यक्रम बिहीवार साँझ नेपालगन्जस्थित होटेल स्टार लाइटको प्राङ्गणमा गरिएको थियो ।

करिव २ हजार बढी दर्शक उपस्थित रहेको कार्यक्रममा गायक केहर सिंह लिम्बू र उनको ब्यान्डले सांगीतिक प्रस्तुति दिँदा फिल्मका मुख्य जोडी अबिशेक खड्का र आकृति राजभण्डारीले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । केहरले ‘कुमारी’को चर्चित गीत ‘डोको बुन्ने’ गाउँदा दर्शकको हुटिङले कार्यक्रम स्थल नै गुञ्जायमान बनेको थियो ।
नेपालगन्जबाट सुरू भएको यो सांगीतिक यात्रा माघ ३ गते पोखरा, ६ गते चितवन, १० गते काठमाडौं र १७ गते झापाको दमकमा आयोजना हुनेछ । माघ १० गते काठमाडौंको भृकुटीमण्डपमा हुने खुला कन्सर्टमा फिल्मको ट्रेलर समेत सार्वजनिक गरिँदैछ ।



