काठमाण्डौ । फिल्म ‘परान’ले व्यावसायिक रुपमा सफलता हासिल गरेको छ । शनिबार प्रदर्शनको ५१ दिन पूरा गरेको फिल्म 'परान' आधा दर्जनभन्दा बढी हलमा प्रदर्शनरत छ । यस वर्ष ५१ औं दिन मनाउने यो तेस्रो फिल्म हो । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन टप’ले उक्त उपलब्धि हासिल गरेका थिए ।
प्रदर्शनको ५१ दिन पूरा भएको अवसरमा फिल्मको निर्माण पक्षले टोखास्थित अनाथ आश्रममा न्यानो कपडा वितरण गरेको छ भने केही दिनमा ‘सक्सेस पार्टी’ पनि आयोजना गरिने निर्माण पक्षले वताएको छ । परानले हालसम्म बक्स अफिसमा करिब १७ करोड ६० लाख रुपैयाँको ग्रस व्यापार गरेको जनाइएको छ।

बाबु-छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रविन खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । हास्य कलाकार दीपक प्रसाद आचार्य ‘काकु’को निर्देशन रहेको यो पहिलो फिल्म हो ।
‘परान’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म समेत बनेको छ । परान भन्दा धेरै कमाइ गर्ने फिल्महरूमा ‘१२ गाउँ’ (१९ करोड ९२ लाख), ‘कबड्डी ४’ (२१ करोड ४० लाख) र ‘पूर्णबहादुरको सारङ्गी’ (४६ करोड ८७ लाख) छन् ।



