काठमाण्डौं । यस वर्ष व्यावसायीक रुपमा सफल सिनेमा ‘ऊनको स्वीटर’ नोभेम्बर २१ (मंसिर ५) गतेदेखि भारतमा प्रदर्शन हुने भएको छ । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको सिनेमा नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने निर्माण पक्षले जनाएको छ ।
अन्तरजातीय प्रेमकथामा आधारित यो सिनेमा पहिलो चरणमा भारतको राजधानी दिल्लीसहित नेपाली भाषीहरूको बसोबास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कर्स्याङ, कालिम्पोङ, आसामसहितका सहरमा फिल्म प्रदर्शन हुने निर्देशक नवीन चौहानले बताए ।
नेपालमा व्यावसायीक रुपमा हिट भएको सिनेमामा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई लगायतको अभिनय रहेको छ । चिन्तनराज भण्डारीको छायांकन, सुजन चापागाईं र कोविद बज्रले संगीत रहेको सिनेमाको ‘फूलहरू मुस्काउँछन्’, ‘मखमली’, ‘काफ्ले’, र ‘चाइनेजो जिन्दगानीमा’ गीत दर्शक स्रोतामाझ लोकप्रिय छन् ।




