चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ मा गर्ने भनिएको निर्वाचन प्रतिक्रान्तिलाई वैधता दिन रचिएको ‘हनी ट्र्यापिङ’ भएको बताएका छन् । ठुला तथा स्थापित दलहरू यस्तो प्रपञ्चमा नपर्नुपर्ने उनको भनाइ छ ।
नेकपा एमाले चितवनले शनिवार नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देश तथा जनताविरुद्ध रचिएको षड्यन्त्रलाई वैधता दिन निर्वाचनको नाटक मञ्चन गर्न खोजिएको आरोप लगाए ।
उनले फागुन २१ को निर्वाचनअघि नै स्थापित दल र तिनका नेतालाई फसाएर मात्र कार्की सरकारले निर्वाचन गर्ने दाबी गरे । यसका लागि विभिन्न षड्यन्त्र रचिएको उनको भनाइ छ । संविधानले अयोग्य ठहर्याएको पात्रलाई विदेशी इशारामा संविधान च्यातेर प्रधानमन्त्री बनाइएको भन्दै बादलले ठुला तथा स्थापित दलका नेतालाई चुनावमा भाग लिन नदिए उनीहरूलाई पनि विदेशी शक्तिले हटाउने चेतावनी दिए ।

स्थापित दलहरू यो षड्यन्त्र नबुझी विभाजित भए देश विदेशीको सैनिक अखडा बन्ने चेतावनी दिँदै उनले निर्वाचनलाई भुलभुलैयामात्र ठाने । प्रचण्ड र माधव नेपालसहित मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी ‘१० कोठे टहरो’ मात्र भएको भन्दै त्यसले उनीहरूको ओरालो यात्रा नरोक्ने बादलको भनाइ छ ।
‘निर्वाचनमा अस्तित्व जोगाउन उनीहरूले १० कोठे टहरो ठड्याएका हुन्, त्यसले पनि ओरालो यात्रा रोकिँदैन । मूल घरमा फर्किएमात्र केही जोगिन सक्छन्,’ उनले भने । १० कोठे टहरो बनाउनेहरू कोर्स सुधारेर मूल घर फर्कन पार्टीले अपिल गरेको र केही फर्किसकेको उनले जानकारी दिए ।



