काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । रास्वपा सभापति रवि लामिछानेसँग ६ घण्टा वार्ता गर्दापनी ठोस सहमति नभएपछि उनले आफ्नै नेतृत्वका राजनीतिक दल बनाएर चुनावमा जाने तयारी थालेका हुन् ।
सभापति लामिछानेले बालेनलाई रास्वपामा समाहित गरेर लैजानेमात्र उद्देश्य राखेको बुझेपछि बालेनले कांग्रेस एमालेलगायतका दलमा रहेका लोकप्रिय फेससहित सामाजिक सञ्जाल र जनताबीच परिचित अनुहारहरू समेटेर अघि बढ्न खोजेका छन् ।
बालेनको स्वकीय सचिवालयका भूपदेव शाह, सुनिल लम्साललगायतले विभिन्न दलका लोकप्रिय युवा नेताहरूसँग पनि फोन गर्दै ‘एकपटक मेयर साबसँग भेटेर छलफल गरौँ’ भन्ने प्रस्ताव राखेका छन् ।
बालेनको टीमले बुधबार दिनभर विभिन्न व्यक्तिहरूसँग छलफल गरेको थियो । यो क्रम आज पनि जारी छ । देश विकास पार्टीबाट चुनाव लड्नेगरी समानुपातिकतर्फका उम्मेदवारको सूची समेत संकलन गर्ने काम भइरहेको बालेननिकट स्रोतले जनाएको छ ।

बालेनले जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्तिका संस्थापक रेशमलाल चौधरीदेखि कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहिया र विवेकशील साझाका मिलन पाण्डेहरूसँग पनि छलफल गरेका छन् ।
केही पपुलिस्ट फिगरसहित सबै समुदायभित्रका राम्रो उद्यम गरेका वा सामाजिक कामबाट स्थापित भएका युवाहरूको सूची बनाउने क्रम जारी रहेको छ । बालेनको देशव्यापी प्रभाव रहेकाले रवि लामिछानेको भन्दा उनकै फेसले भोट आउने आँकलन उनका सहयोगीहरूको छ ।
यसबीचमा बालेनले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीदेखि रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलासँग समेत छलफल गरेका छन् । रवि लामिछानेसँग मिलेर एउटै पार्टीमा जाने सम्भावना अन्त्य नभए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनका सहयोगीहरूले बताए । सामाजिक सञ्जालमा सक्रिय पूर्वसचिव भीम उपाध्यायदेखि कलाकार निश्चल बस्नेतहरू समेत बालेनको भेलामा थिए ।
बालेनको टीममा रास्वपा छाडेकी सुमना श्रेष्ठ, रास्वपाकै गणेश कार्कीलगायतका नेता पनि रहने भएका छन् ।



