काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका बताए ।
मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उनले सुनाए ।



