काठमाडौं– केही दिनअघि मात्र गृहमन्त्री सुदन गुरुङले मधेस प्रदेश प्रहरीको जिम्मेवारी खोसेर उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेका प्रहरी नायव महानिरिक्षक (डीआईजी) गोविन्द थपलियाको तस्करीमा संलग्नसम्मको लाइन रहेको पत्ता लागेको छ।
महोत्तरीदेखि धनुषालगायतका सीमा क्षेत्र हुँदै तस्करीमा संलग्नसँग थपलियाले रकम उठाउनका लागि घुमुवा परिचालन गरेको खुलेको हो। आफ्नो पोल खुल्ने डरले उनले मधेस प्रदेशका विभिन्न जिल्ला प्रहरी उपरिक्षक (एसपी)लाई स्पष्टीकरण सोध्ने, तल्ला दर्जाका कर्मचारीलाई यातना दिनेसम्मको काम गरेका थिए।
एक जना प्रहरी जवानले त उनको कार्यकक्षमा आत्महत्या नै गर्ने प्रयास गरेका पनि थिए।
यीबाहेक आफूले सहजीकरण गरिदिएको तस्करीको लाइनलाई भत्काउने प्रहरी अधिकारीलाई चरणबद्ध हिसाबले आन्तरिक रुपमा प्रहरी महानिरिक्षक (आईजी) दानबहादुर कार्कीलाई समेत प्रभावित बनाएर कारबाही गराउनका लागि उद्दत भएका आन्तरिक प्रकरण पनि खुलेका छन्।
यो प्रकरणमा क्यानडानेपालले निरन्तर समाचरा लेखेपछि प्रहरी प्रधान कार्यालयले एआईजी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। तर, त्यो पनि कर्मकाण्डी मात्र बनुञ्जेल ‘सेलिब्रिटी’ बन्न खोजेका आईजी कार्कीले प्रतिवेदन नै कार्यान्वयनमा लगेनन्।
उच्च स्रोतका अनुसार आईजी कार्की आफैंले पनि मेचीदेखि महाकालीसम्म सीमावर्ती क्षेत्रमा केन्द्रबाट खटाएका घुमुवा, मधेसमा थपलियाका घुमुवालाई गरिएको संरक्षणले संशयको घेरामा तानिएका छन्।
डीआईजी थपलियाले एक जिल्लाका गाँजा तस्करसँग मात्र मासिक ४ देखि ५ लाखसम्म नजराना लिने गरेको बताइन्छ। मधेस प्रदेशमा ८ जिल्ला छन् भने सबै सीमा वारपार हुने स्थान हुन्।
पछिल्लो पटक धनुषाका एसपी रुगम कुँवरसँग टसल परेको प्रकरणलाई सोही जिल्लाको तस्करीको लाइनसँग जोडेर हेरिन्छ भने बारा र महोत्तरीका एसपीलाई लिइएको स्पष्टीकरण नामको पत्र पनि सोही विवादसँग जोडिन पुग्छ।
यसबाहेक उनले सप्तरीका एसपीलाई यसअघि नै खेदिसकेका थिए जसमा ब्याच मेट (ब्याची) आईजी कार्कीले संगठनका अधिकारीका विषयमा बुझ्नुको साटो धमाधम सहयोग गरेर लालमोहर लगाइदिए।
तल्लो दर्जालाई यातना र सरुवा, कमाण्डरलाई उन्मुक्ति
छानबिन समितिले अडियो प्रकरणमा जोडिएका वरिष्ठ प्रनानी (वरिष्ठ सई) सागर शम्शेर जबरा, थपलियाका लागि रकम उठाउने कमान्डर मानिएका वरिष्ठ सई गोपाल थापामगर र प्रनानी (सई) जयलाल यादवलाई नक्साल तानेर बयान र मोबाइलको फरेन्सिक जाँच (डीएफएल)सम्म गरेको थियो। उपचार बिदामा रहेका एसपी कुँवरलाई समेत सोधपुछ गरियो।
तर, मुख्य अभियुक्त मानिएका डिआईजी थपलियालाई भने समिति गठन भएको ४६ दिनपछि मात्र सोधपुछका नाममा समय बिताएको पाइन्छ। छानबिनको पूर्ण प्रतिवेदन नआउँदै जेठ २९ गते छापामार शैलीमा ११ जना वरिष्ठ सईहरूको त्रुटिपूर्ण सरुवा प्रहरी प्रधान कार्यालयले गरेको छ। उक्त सरुवा पनि डीआईजी थपलियाको सिफारिसका आधारमा आईजी कार्कीले लालमोहर लगाइदिए।
मधेश घर भएका वरिष्ठ सई सागर शम्शेर जबरालाई प्रतिशोधपूर्ण देखिनेगरी सुदूरपश्चिमको विकट बाजुरास्थित बुढिनन्दा इलाकामा लखेटियो।

दुई महिनादेखि सोलुखुम्बुमा कार्यरत वरिष्ठ सई सुरेन्द्र खेडवारलाई गण्डकी प्रदेशमा सरुवा गर्न आईजी कार्कीले लालमोहर लगाए यसको नेपथ्यमा विवादीत डीआईजी थपलिया थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका लोकेन्द्र पण्डितलाई कर्णाली प्रदेशमा धकेलियो।
विवादीत थपलियाका मुख्य सारथी मानिएका वरिष्ठ सई गोपाल थापामगर र सई जयलाल यादवलाई भने नक्सालमै संरक्षण दिएर राखिएको बताइन्छ।
स्रोतका अनुसार, विगत साढे ८ महिनाको कार्यकालमा डिआईजी थपलियाले मधेश प्रदेशलाई सुशासन होइन, आतंकको अखडा बनाएका थिए।
सरुवा मापदण्डलाई धोती लगाउँदै ‘मालदार ठाउँ’मा आफ्ना मान्छे पठाउने र महिनावारी नदिने २ सयभन्दा बढी तल्लो दर्जाका प्रहरीलाई प्रदेश कार्यालयमा झिकाएर अनावश्यक यातना दिने गरेको पनि स्रोतले जनाएको छ ।
हामीहरूका नागरिकता र पारिवारिक विवरण माग गरी दुरुपयोग गर्ने भय सिर्जना गरिएको थियो, जसको अभिलेख हाल प्रदेश कार्यालयमा समेत गायब पारिएको भन्ने आशंका छ’, पीडित मध्यका तल्लो दर्जाका एक प्रहरी कर्मचारीले क्यानडानेपालसँग भने,‘हदैसम्म दुख दिएका कारण आत्महत्यासम्मको प्रयास भएको थियो।’
डिआईजी थपलियाले जिल्लाका एसपीहरूलाई दुश्मन जस्तै व्यवहार गरेका थिए। पछिल्लो समय आफ्नो कर्तुत लुकाउन उनले बारा र रौतहटका एसपीहरूलाई स्पष्टीकरण पनि सोधेका थिए।
बलात्कार मुद्दामा प्रमाण नष्ट गरेको आरोपमा अदालतबाट २ लाख धरौटीमा छुटेका शिवशंकर (हिरा साह) जस्ता प्रतिवादीहरूलाई प्रदेश कार्यालयमै बोलाएर आफ्ना कर्तुतका बिरोधी जिल्ला प्रमुख र अन्यविरुद्ध उजुरी दिन थपलियाले उचाल्ने गरेको पनि बताइन्छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रहरीको पोशाक खरिदमा भएको करोडौँको हिनामिनामा छानबिन थालेका आईजी कार्की संगठनको नेतृत्वमा आएपछि सुधारभन्दा बढी विवाद सुरु भएका छन्। उनी नेतृत्वमा आएको दुई महिनामा नै मधेसमा तस्करीको लाइन गज्जब तरिकाले खुलेको बताइन्छ।
यसको प्रमाणका निम्ति नक्सालबाटै सेटिङ मिलाएर उजुरी शाखाले तानेका सई गोपाल थापामगरलाई पुनः मधेश पठाउनु र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत प्रहरी हवल्दार महेन्द्र महतोलाई झापादेखि हेटौँडासम्मको तस्करीको लाइनको जिम्मा दिनु अझ बलिया आधारका रुपमा विश्लेषण गरिएको छ।
यसबाहेक डीआईजी थपलियालाई कारबाहीको साटो ट्वाइसी (सेकेन्ड) म्यान हुनेगरी सरुवा दिनु, घुमुवाहरू राकेश यादव र धर्मेन्द्र यादव गाँजा तस्करीका फरार अपराधीहरूको गाडीमा मस्ती गरिरहेको भिडियो सार्वजनिक हुँदा समेत आँखा चिम्लएर बसेका आईजी कार्की संशयमा तानिएका हुन्।
संगठनमा यति धेरै विवाद र समस्या कायम रहेका बेला त्यसको सुधारलाई ध्यान दिनुपर्नेमा आईजी कार्की भने सस्तो लोकप्रियताका निम्ति ‘कमेडी शो’तिर पुगेको भेटिएको गुनासो पनि बढ्न थालेको छ।
Source-Canada Nepal



